सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद ।।
पार्टी बिधानको प्रस्तावना-
सार्वभौमसत्ता सम्पन्न जनताका हामी प्रतिनिधिहरू नेपाललाई स्वतन्त्र, स्वाधीन, समृद्ध, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, सहभागीतामूलक, सङ्घीय समाजवादी लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउने ध्येयप्रति प्रतिवद्ध हुँदै,
नेपाल एक सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विविधताले भरीपूर्ण राज्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै,
समानता, स्वतन्त्रता, राष्ट्रिय पहिचान, सुशासन, सामाजिक न्याय र समृद्धिको आकाङ्क्षा पुरा गर्न जनताद्वारा, जनताले जनताकै लागि गरिने शासन प्रणाली स्थापनाका लागि राजनीतिक पार्टी निर्माण गर्न, राष्ट्रको गरिमा अभिवृद्धि, जनताको सर्वोतम् हित र समृद्धि नै पार्टीको लक्ष्य हो भन्ने मान्यतालाई आत्मसात गर्दै,
इतिहासको विभिन्न कालखण्डमा जनताले सञ्चालन गरेका राणाशासन बिरोधी आन्दोलन, निरङकुश निर्दलीय पञ्चायती व्यवस्था बिरोधी आन्दोलन, एकात्मक एवम् राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य तथा राष्ट्रिय स्वाधीनता, शान्ति र अग्रगामी परिर्वतनको पक्षमा भएका जनक्रान्ति, जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारू, महिला, मुस्लिम, दलित, पिछडा वर्गलगायत उत्पीडित एवम् शोषित जनताले चलाएको जनसङ्घर्ष र आन्दोलनमा गरेका त्याग, सङ्घर्ष, बलिदान र उत्सर्गको उच्च सम्मान गर्दै,
जनताको सार्वभौमिकता, सङ्घीय शासन प्रणाली, बहुलतायुक्त खुला समाज, नागरिक स्वतन्त्रता, वालिग मताधिकार, आवधिक निर्वाचन, समावेशी लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, समानुपातिक समावेशीता, संवैधानिक सर्वोच्चता, कानूनी राज्य, मौलिक हक एवम् मानव अधिकार, नागरिक र राजनीतिक अधिकार, आर्थिक सामाजिक र साँस्कृतिक अधिकार, अल्पसङ्ख्यक अधिकार, महिला पुरूषबिच समानता, शक्तिपृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, प्रेस स्वतन्त्रता, जनताको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासन, सामाजिक सुरक्षा, सामाजिक तथा आर्थिक न्यायको सिद्धान्त र समाजवादी लोकतन्त्र (Socialist Democracy) को मूल्य मान्यतालाई आत्मसात गर्दै,
सामन्ती, पितृसत्तात्मक, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक र सामाजिक न्याय प्राप्ति सँग–सँगै राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक लोकतन्त्रमा आधारित समाजको निर्माण गर्ने, जहाँ प्रत्येक व्यक्ति र समुदायका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा, रोजगार, सबैका लागि स्वास्थ्य जीवन, खाद्य सुरक्षा तथा उन्नत पोषण, आवासका साथै राष्ट्रको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनमा स्वतन्त्रता, समानता, सामाजिक तथा आर्थिक न्याय र सुरक्षामा सहभागीता तथा पहुँच, विज्ञान र प्रविधियुक्त, समृद्ध र समुन्नत जीवनको सुनिश्चित्तता गर्न सबैले समान अवसर प्राप्त गर्ने ध्येयप्रति प्रतिवद्ध हुँदै,
विविधतामा एकता र एकतामा विविधतालाई आत्मसात गरी हाम्रो समाजमा वर्ग, वर्ण, जात, जाति, धर्म, भाषा, लिङ्ग आदिका आधारमा भइरहेका विभेद, असमानता, शोषण र उत्पीडनलाई उन्मूलन गरी देशमा शान्ति, विकास र समृद्धिका लागि हिमाल, पहाड र तराई/मधेसको बिशिष्टतालाई सम्बोधन गर्ने उद्देश्यका साथ नेपालमा आदिवासी जनजाति, मधेसी, थारू, दलित, मुस्लिम, खस, महिला, पिछडा वर्ग, अपाङ्गता भएको व्यक्ति, सीमान्तकृत अल्पसङ्ख्यक समुदाय, लोपोन्मुख उत्पीडित जात र जाति, श्रमजीवी वर्ग, किसान, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलगायत बिभिन्न समुदायहरूमाथि शताब्दियौंदेखि कायम रहेको विभेद, शोषण, उत्पीडन र असमानतलाई अन्त्य गरी जातीय/समुदायगत जनसङ्ख्याको आधारमा राज्यको हरेक अङ्ग, निकाय र तहमा समानुपातिक सहभागिता तथा प्रतिनिधित्वको प्रत्याभूति गराउँदै,
सबै प्रकारका गरिबी, भोकमरी, कुपोषण एवम् लैङ्गिक विभेद उन्मुलन गरी मर्यादा एवम् समता कायम गर्ने, जेष्ठ नागरिक, महिला र बाल अधिकारको संरक्षण गर्दै, आर्थिक, स्वास्थ्य, शिक्षा र अवसर प्राप्तिमा रहेका असमानता र अन्यायलाई अन्त्य गरी शान्तिपूर्ण, न्यायसङ्गत, समावेशी लोकतान्त्रिक एवम् समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै,
पार्टीको आधारभूत उद्देश्य– समानता, सम्पन्नता, सामाजिक एबम् आर्थिक न्याय र व्यक्तिको स्वतन्त्रतालाई समाजमा अभिबृद्धि गर्नु हो भन्ने मान्यताका साथ जनताका लागि शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था, असमानताको न्यूनिकरण, गरिबीको निवारण, भोकमरी तथा कुपोषणबाट मुक्ति तथा पार्टीलाई नेपाली श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रियताहरूको अगुवा (Vanguard) राजनीतिक प्रतिनिधि संस्थाको रूपमा विकास गरी समाजवादी अर्थव्यवस्था, राजनीति र संस्कृतिको विकास गर्न प्रतिवद्ध हुँदै, सामन्ती वर्ण व्यवस्था, जात प्रथा र पितृसत्तात्मक संस्कृतिको आधारमा समाजलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने जातीय अहङ्कारवादी मनोवृत्तिको विरोध गरी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका साथै समाज विकासको क्रममा विकसित सूचना, सञ्चार, ज्ञान, विज्ञान र प्रविधिको आधारमा समाजलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र परिवर्तन गर्ने वैचारिक प्रतिबद्धताका साथ वर्गीय, राष्ट्रिय तथा सामाजिक मुक्ति आन्दोलनलाई एकाकार गरी नेपालमा सङ्घीय समाजवाद (Federal Socialism) स्थापना गर्ने सङ्कल्प गर्दै,
संसारभरका उत्पीडित राष्ट्रियता र श्रमजीवि बर्गमाथिको दमन, सामन्तवादी तथा पूँजीवादी, शोषण, उत्पीडन, जात र जातीय/राष्ट्रिय विभेद (Caste and ethnic based discrimination) का बिरूद्ध विश्वव्यापीरूपमा भइरहेको सङ्घर्ष, नव–उपनिवेशवाद, पुँजीवादी एकाधिकार र साम्राज्यवाद, रङ्गभेद बिरूद्ध हुने वा भइरहेका आन्दोलन एवम् सङ्घर्षप्रति समर्थन र ऐक्यबद्वता राख्दै समाजवादी लोकतन्त्र, सामाजिक र आर्थिक लोकतन्त्र, पर्यावरणीय लोकतन्त्र, महिला आन्दोलन, श्रमजीवी वर्गको आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन तथा सामाजिक मुक्तिलगायतका आन्दोलनहरूप्रति प्रतिबद्ध रहँदै, सङ्घीय समाजवादी लोकतान्त्रिक गणतन्त्रात्मक, नेपाल स्थापना गर्ने रणनीतिक लक्ष्य प्राप्तिका लागि सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व भएको राष्ट्रिय चरित्रको क्रान्तिकारी पार्टी निर्माण गर्न अपरिहार्य भएकाले जनता समाजवादी पार्टी, नेपाल (People’s Socialist Party, Nepal) को विधान अधिवेशनद्वारा पारित गरी यो विधान जारी गरिएको छ ।
पार्टीका आदर्श र उद्देश्यहरू:
सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको आदर्श हुन् ।
पार्टीका उहेश्यहरू निम्नानुसार रहेका छन् ।
१. नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै हिमाल, पहाड, तराई/मधेसबिच भावनात्मक एकीकरण गरी सबैको स्वामित्व, प्रतिनिधित्व र पहिचानको मान्यतामा आधारित सङ्घीय राज्यको स्थापना र संस्थागत गर्ने ।
२. पहिचानसहितको सङ्घीयता, सुशासन, समतामूलक समृद्धि र सामाजिक न्यायसहितको प्रगतिशील एवम् लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाट समाजको रूपान्तरण गर्ने ।
३. राज्यका सबै क्षेत्र, तह र निकायहरूमा जातीय/समुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व गर्ने ।
४. सहभागीतामूलक समावेशी लोकतन्त्रसहितको समाजवादी लोकतन्त्रका साथै समाजवादी आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक प्रणालीको विकास गर्ने ।
. राज्यको शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रतिनिधित्व भएको संसदको मान्यता स्थापित गर्ने ।
५. बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट जनताको नागरिक र राजनीतिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको प्रत्याभूति गराउने । समता, स्वतन्त्रता एवम् सामाजिक न्यायमा आधारित व्यवस्था निर्माण गर्ने ।
६. राष्ट्रिय, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय तहमा समान उद्देश्य भएका विभिन्न राजनीतिक, सामाजिकलगायतका सङ्गठनहरूसँग सहकार्य, कार्यगत एकता एवम् मित्रवत् सम्बन्ध राख्ने ।
७. देशभित्र वा बाहिर जातिभेद, रङ्गभेद र उत्पीडनका बिरूद्ध उठेका न्यायपूर्ण सङ्घर्ष एवम् राष्ट्रिय मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता साथ समर्थन गर्ने ।
८. जातीय/समुदायिक पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक प्रतिनिधित्व एवम् सहभागीताको अधिकारलाई सुनिश्चित एवम् सुरक्षित गर्ने ।
९. जलवायु परिवर्तन र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने ।
१०. जनतालाई आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक रूपले सबलीकरण गर्दै श्रमजीवी वर्ग, किसान, बहिस्करण र बञ्चितीकरणमा पारिएका समुदायहरूको जीवनमा गुणात्मक र स्तरीय सुधार ल्याउन खाद्य सुरक्षा, पूर्ण रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र आवासमा सबै जनताको पहुँचका लागि प्रयत्न गर्ने ।
११. समाजमा शताब्दियौंदेखि परम्पराको नाममा रहि आएको अन्धविश्वास, रूढीवादी प्रथा प्रचलन, चिन्तन र व्यबहारलाई अन्त्य गरी ज्ञान, विज्ञान र सूचना प्रविधिमा आधारित आधुनिक समाजको निर्माण गर्नका लागि प्रयत्न गर्ने ।
१२. सबै नागरिकका लागि समान विकासको अवसर, प्रत्येक व्यक्तिलाई आफ्नो व्यक्तित्वको स्वतन्त्र विकास गर्ने अधिकार तथा व्यक्तित्वको क्षमताको अधिकतम् विकास सँगसँगै समानता र न्यायको प्रत्याभूति गर्ने ।
१३. एक मानवद्वारा अर्को मानवमाथि, एउटा समाजिक समुदायद्वारा अर्को सामाजिक समुदायमाथि, एउटा जात/जातिद्वारा अर्को जात/जातिमाथि, एउटा वर्गद्वारा अर्को वर्गमाथि हुने गरेका शोषण, उत्पीडन र विभेदको अन्त्य गर्ने ।
१४. कुनै निश्चित धर्म, जात, जाति, लिङ्ग र साँस्कृतिक समुदायकाले मात्रै उपभोग गरिरहेका विशेषाधिकारलाई अन्त्य गरी सीमान्तकृत बनाइएका समुदायहरूलाई राज्य संरचनाको मूल प्रवाहमा ल्याउनका लागि उनीहरूको राजनीतिक, आर्थिक र सामाजिक सवालहरूको समाधान गर्न प्रयत्नरत रहने ।