
जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा पुनः अभरेन्द्र यादव चयन भएका छन्। मिर्चैयामा सम्पन्न दोस्रो अधिवेशनले यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
दुई दिनसम्म चलेको अधिवेशनले अध्यक्ष यादवसहित २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रामहृदय यादव (धनुषा) र माला राय (धनुषा) रहेका छन् भने मुख्यसचिवमा प्रवेश कुमार मिश्रलाई चयन गरेको छ।
त्यस्तै, सचिवमा नागेन्द्र यादव (महोत्तरी) र प्रभा कुमारी यादव (पर्सा) चयन भएका छन्। समावेशी सचिवमा राम पुकार राउत (रौतहट) र सरोज कुमार यादव (सर्लाही) चयन भएका छन्। कोषाध्यक्षमा राजेश कुमार सिंह निर्वाचित भएका छन्।
सदस्यमा उमेश यादव (रौतहट), राजेश प्रसाद यादव (बारा), शितल साह (सिरहा), ओमप्रकाश यादव (सिरहा), विनय कुमार अधिकारी (धनुषा), बह्मान्नद ठाकुर (धनुषा) र मेवालाल यादव (रौतहट) चयन भएका छन्।
महिला सदस्यमा रश्मी पटेल (रौतहट) छानिएकी छन्। आदिवासी जनजाति तर्फ जितेन्द्र सिंह दनुवार (सिरहा) र ज्ञानेश्वर मण्डल (सर्लाही) चयन भएका छन् भने मुस्लिम सदस्यमा साविर आलम रहेका छन्।
निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीका अनुसार अधिवेशनमा सहभागी मधेश प्रदेशका ८ जिल्ला र अन्य प्रदेशका पार्षदहरूको सहमतिमा अध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन्। उनका अनुसार समिति दुईपक्षीय सहमति मै सर्वसम्मत चयन भएको हो।
अधिवेशनमा प्रेस मञ्च नेपालका अध्यक्ष कमन देवान, कार्यवाहक अध्यक्ष मनोज कुमार यादवसहित केन्द्रिय पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। अधिवेशनपछि मधेश प्रदेश समितिले पूर्णता पाएको निर्वाचन समितिले जनाएको छ।